काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन्।
नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाली भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको बताए।
उनले नेपालीहरु बहादुर मात्रै नभइ बुद्धिमानी पनि रहेको बताए। उनले नेपालका पुर्खाहरु जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गरे। उनले वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरुको बारेमा नेपालीहरुलाई बुझाउन आवश्यक रहेको बताए।
उनले नेपाल इतिहासमा पनि विद्वानहरुको भूमि भएको र भविष्यमा पनि विद्वानहरुको भूमि हुने उल्लेख गरे। उनले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भए पनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताए।
उनले भने, ‘नेपालीहरुलाई बहादुर मात्रै भनिएको छ, तर बहादुर मात्रै होइन, नेपालीहरु विद्वान पनि छन्। हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन्। वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे। कपिलमुनी कपिलवस्तुका थिए, उनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए। २६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए। पाणिनी अर्घखाँचीका थिए। यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ। यो इतिहासमा पनि विद्वानहरुको भूमि हो। भविष्यमा पनि विद्वानहरुको भूमि हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।