तस्बिर: निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं- जनता समाजवादी पार्टीका नेता प्रमिला कुमारी यादवले पनि उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। शनिबार संसद् भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। उनी राष्ट्रिय सभा सदस्य हुन्।
उनको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, र राजकिशोर यादव छन्। यस्तै, समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिस सुमन छन्।
निर्वाचन आयोगले महिला उम्मेदवारी दर्ता गराउन भनेकाले जसपाको तर्फबाट दुइटा उम्मेदवारी परेको छ। यसअघि सोही पार्टीका रामसहायप्रसाद यादवले पनि उम्मेदवारी दर्ता गराएका छन्।
यादवको उम्मेदवारी खारेज भएको अवस्थामा सोही पार्टीको उम्मेदवार कायमै रहोस् भन्ने उद्देश्यले प्रमिलाले पनि उम्मेदवारी दिएकी हुन्।
शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले उम्मेदवार तय गर्न सकेको थिएन। फरकफरक दलको तर्फबाट उम्मेदवारी दिँदै गर्ने र सहमति खोज्दै जाने निष्कर्षका साथ बैठक सकिएको थियो।
नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।