काठमाडौं- उपराष्ट्रपतिको उम्मेदवार तय गर्न बसेको गठबन्धनको बैठकले व्यक्ति विशेषलाई उम्मेदवार तोक्न सकेन। प्रधानमन्त्री निवासमा बसेको बैठकमा दश दलको सहभागिता रहेको थियो।
जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको सो पार्टीका अध्यक्ष सीके राउतले बताए। उनको मनोनयन दर्ता हुने उनले बताए।
'जसपाले दुईवटा (पुरुष र महिला) उम्मेदवारी दिने तर को-को उम्मेदवार बनाउने भनेर टुंगो लागेको छैन। नागरिक उन्मुक्ति, लोसपा र जनमत पार्टी लगायतको समर्थनमा ममता झालाई साझा उम्मेदवारको रुपमा अगाडि सार्ने हुन्छ', उनले भने।
राउतले आफूहरू छलफलकै क्रममा रहेको बताए। 'भोलिसम्ममा सायद निष्कर्ष निस्किएर एउटा मात्रै उम्मेदवार कायम हुने प्रबल सम्भावना छ', उनले भने।
निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भइसकेको भन्दै उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउन भनेकाले आफूहरुले 'रिस्क' नलिने उनको भनाइ छ।
जनमत पार्टीले यसअघि रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लिएको थियो।
चैत ३ गते निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ। शनिबार दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।