काठमाडौं- नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।
शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
शाक्यलाई एमालेले २०६५ सालमा पनि उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो। तर, पछि कांग्रेस र फोरम लगायतसँग तालमेल गरेपछि शाक्यको उम्मेदवार निष्क्रिय गराइएको थियो।
चैत ३ गते निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ।
शनिबार दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
शनिबार नै दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको सूची प्रशासन हुनेछ। दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारका विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ।
शनिबार बेलुका ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्र जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम गरिने निर्वाचन आयोगले जनाएको छ।
आइतबार १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र आइतबार ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
यसअघि बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।