काठमाडौं– नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। आज शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाएको एक पदाधिकारीले बताए।
यसअघि राष्ट्रपति निर्वाचनमा जसपाले एमालेलाई समर्थन गर्ने विश्वासमा उपपराष्ट्रपति निर्वाचनमा एमालेले जसपालाई समर्थन गर्ने तयारी रहेपनि त्यसअनुरुपको गतिविधि नभएपछि एमालले आफ्नै उम्मेदवारी दिन तयारी गरेको ती पदाधिकारीले बताएका छन्।
उपराष्ट्रपतिका लागि आज शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ।
शनिबार नै दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको सूची प्रशासन हुनेछ। दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारका विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ।
शनिबार बेलुका ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्र जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम गरिने निर्वाचन आयोगले जनाएको छ।
आइतबार १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र आइतबार ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
यसअघि राष्ट्रपतिमा आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। एमालेले राष्ट्रपतिका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाएपनि जित निकाल्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।