काठमाडौं– आगामी चैत्र ५ गते हुन गैरहेको स्ववियु निर्वाचनलाई लिएर नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघभित्र विवाद झनै चर्किएको छ।
प्रतिनिधि खटाउने र टिकट वितरणको विषयमा नेविसंघभित्र फरक मत राख्ने पक्षलाई अध्यक्ष दुजाङ शेर्पाले पेलेको भन्दै नेविसंघको स्ववियु निर्वाचनका समिति संयोजकहरूले संयुक्त राजीनामा दिने तयारी थालेका हुन्।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा सबै मुख्य विद्यार्थी संगठनहरू आन्तरिक तयारीमा लागेको समयमा नेविसंघ अध्यक्ष शेर्पाले क्याम्पसमा खटाउने प्रतिनिधि र टिकट वितरणमा न्यायपूर्ण व्यवहार नगरेको र निश्चित व्यक्ति र गुटगत स्वार्थमा केन्द्रित रहेको भन्दै राजीनामा दिन लागेको स्ववियु प्रशिक्षण समितिका संयोजक तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले बताइन्।
नेपाल विद्यार्थी संघले विगत तीन महिनादेखि विभिन्न अभियान, प्रशिक्षण र कार्यक्रमहरू सञ्चालन गर्दै स्ववियु निर्वाचनको तयारी थालेकोमा शेर्पाले गुटलाई प्रोत्साहन गरी फरक मत राख्ने पक्षलाई पेलेको भन्दै स्ववियु घोषणा पत्र समितिका संयोजक पुजन गन्धर्वले राजीनामा दिने तयारीमा थालेको जानकारी दिए।
गन्धर्वका अनुसार निर्वाचनको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेको आफूसहित प्रशिक्षण संयोजक एलिजा ढकाल र गठबन्धन कार्यदलका सदस्य दिनेश शाहीले राजीनामा दिने तयारी रहेको छ।
प्रशिक्षण समितिकी संयोजक एलिजा ढकालले भनिन्, ‘आन्तरिक मतभेद भुलेर संगठनको अस्तित्वका लागि पनि स्ववियुमा होमिनुपर्छ र सभापति एक्लै भएको अवस्थामा सभापतिलाई सहयोग गर्नुपर्छ भनेर लाग्यौं तर उहाँ न्यायिक हुनुभएन, स्ववियुको टिकट नेताको घर र होटलबाट बाढ्न खोज्नुभयो, विद्यार्थीको पहुँचभन्दा माथिबाट टिकट बाड्न खोज्नुभयो, गुट नभएका क्याम्पसमा काम गरिरहेका विद्यार्थीहरु टिकट माग्न कहाँ जाने?’
यदि संगठनको सिद्धान्त, विधि, विधानको कार्यान्वयन गर्नबाट नेतृत्व पछि हटे र निश्चित व्यक्ति र गुटको स्वार्थमा केन्द्रित रहे आफू निकट विद्यार्थीहरुमाथि अन्याय भएमा देशव्यापी विद्रोह गर्न आफूहरु तयार रहेको घोषणा पत्र संयोजक गन्धर्वले चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।