जनकपुरधाम– वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी गर्ने तीन जना पक्राउ परेका छन्। शुक्रबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्रकाशित गरिएको मतदाता नामावलीमा फर्जी विद्यार्थीको नाम समावेश रहेको भन्दै एक समूहले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेको थियो।
आगलागीबाट क्याम्पसको फर्निचर र केही कागजात जलेर नष्ट भएको छ। आगो लगाएको आरोपमा प्रहरीले नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका नेता सुजित गिरी, अनेरास्ववियु क्रान्तिकारीका नेता शिवम् साह र अनेरास्ववियुका नेता अभिषेक चौहानलाई पक्राउ गरेको छ।
मतदाता नामावली र निर्वाचनको विषयमा क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र विभिन्न विद्यार्थी संगठन तथा समूहका नेताहरुबीच छलफल चलिरहेको थियो। सो क्रममा फर्जी विद्यार्थीलाई नामावलीमा राखेको भन्दै एक समूहले पेट्रोल छर्केर आगजनी गरेका थिए।
घटनापछि क्याम्पस प्रमुख डा उमेशकुमार चौरसियाले स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका छन्। उनले मतदाता नामावलीमाथि छानबिन गर्न रघुनाथप्रसाद चौरसियाको संयोजकत्वमा समितिसमेत गठन गरेका हुन्। नौ सदस्यीय उक्त छानबिन समितिले मतदाता नामवलीमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन दिने क्याम्पस प्रमुख चौरसियाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।