काठमाडौं- राष्ट्रपति निर्वाचनमा कूल ८३१ सांसदले मत दिएका छन्। संघीय संसद्का ३१३ र प्रदेश सभाका ५१८ सांसदले मत दिएका हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता सूचीमा संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सदस्य मतदानका लागि योग्य थिए। तर बिहीबार भएको निर्वाचनमा कूल ८३१ सांसदले मात्रै मत दिएका हुन्। यसरी कुल ४९ हजार ५९१ मत खसेको हो।
निर्वाचनमा संघीय संसद्का १८ र प्रदेश सभाका ३२ सदस्यले मत दिएनन्। राप्रपा र नेमकिपाले पार्टीगत रुपमै निर्णय गरेर मत नदिएका हुन्।
मतदाता सूची प्रकाशित भइसकेपछि जसपाकी संघीय सांसद सहनाज रहमानको निधन भएको थियो। त्यस अतिरिक्त चन्द्र भण्डारी, वर्षमान पुन र लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन्। प्रदेशतर्फ राप्रपाका २८, नेमकिपाका ३ र जसपाका १ सांसदले मत दिएनन्।
खसेको मतमध्ये रामचन्द्र पौडेलले ३३ हजार ८०२ मत पाए। उनलाई संघीय सांसद २१४ र प्रदेश सांसद ३५२ ले मत दिएका छन्। सोही मतका साथ उनी विजयी भएका हुन्। पौडेलका प्रतिस्पर्धी सुवास नेम्वाङले १५ हजार ५१८ मत पाए। उनलाई संघीय सांसद ९८ र प्रदेश सांसद १६२ ले मत दिएका हुन्।
निर्वाचनमा ५ मत बदर भएको छ। जसमा संघीय सांसद एक जना र प्रदेशका सांसद ४ जना छन्। निर्वाचन परिणामका विवरणहरु निर्वाचन आयोगले आधिकारिक रुपमा सार्वजनिक गर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।