काठमाडौं– ‘यो चिठी हैन। कसैको अंश उडेको पाना हो। तर अक्षर उडेको पानामा प्राण कसरी भरुँ म। के लेखेर दिऊँ यो चिठीमा। भनूँ कि सबै ठिक छ। म आउँदैछु दशैंमा...।’
यो मर्मस्पर्शी आवाज पृष्ठभूमिमा सुनिन्छ। दृश्यमा रातो पहिरनमा एउटी महिला कसैको पर्खाइमा बसिरहेकी छन्। एक मानिस खबर लिएर आइरहेका छन्।
महिला र पुरुष दुवैका उदास अनुहार। र सँगै धमिलो मौसम। कुनै रहस्यमयी घटना लुकिरहेका आभास दृश्यले गराउँछन्।
यो २९ वैशाखमा रिलिज हुन लागेको फिल्म ‘हल्कारा’को टिजर हो। १ मिनेट ३७ सेकेण्डको टिजरमा एउटा युवक चिठ्ठीको गन्तब्यतर्फ लम्किरहेको कथा महसुस गर्न सकिन्छ।
अमेरिकामा भएको अन्तर्राष्ट्रिय ‘ह्युस्टन फिल्म फेस्टिभल’मा ‘हल्कारा’ उत्कृष्ट विदेशीभाषी फिल्म घोषित भएको थियो।
साथै प्लाटिनम रेमी अवार्ड समेत फिल्मले हात पारेको थियो। फिल्मका अभिनेता महेश त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड समेत जितेका थिए। त्यस्तै, फिल्म खिचेका छायाँकार चिन्तन राजभण्डारीले महोत्सवमा सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि पाएका थिए।
फिल्मलाई विक्रम सापकोटाले निर्देशन गरेका छन्। गाउँमा खबर पुर्याजउने पात्रको कथालाई लिएर निर्माण भएको यो फिल्ममा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा देखिएका छन्।
फिल्म आइसफल प्रोडक्सन र कालिपार स्टुडियोजले संयुक्त रुपमा निर्माण गरेका हुन्। विक्रम सापकोटाले लेखेको यो फिल्ममा अभिनेता त्रिपाठीसँगै बिनिता थापामगर मुख्य भूमिकामा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।