काठमाडौं– बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ।
उनको ६६ वर्षको उमेरमा निधन भएको हो। अभिनेता अनुपम खेरले ट्वीट गर्दै यो जानकारी दिएका हुन्। सतीश कौशिकको जन्म १३ अप्रिल १९५६ मा भएको थियो। उनी एक अभिनेता, निर्देशक, निर्माता, हास्य कलाकार र पटकथा लेखक थिए।
मृत्युबारे जानकारी दिँदै अनुपम खेरले ट्वीट गरे, ‘मलाई थाहा छ। मृत्यु यो संसारको अन्तिम सत्य हो! तर जिउँदै मेरो मिल्ने साथी सतीश कौशिकको बारेमा यो लेख्छु भनेर सपनामा पनि सोचेको थिइनँ। ४५ वर्षको मित्रतामा यस्तो अचानक पूर्णविराम। सतीश बिनाको जीवन कहिल्यै उस्तै हुँदैन। ओम शान्ति!’
अभिनेत्री कंगना रनोटले पनि सतीश कौशिकको निधनमा शोक व्यक्त गरेकी छन्। उनले ट्विट गरेकी छन्, ‘यो डरलाग्दो खबरले निद्रा उडेको छ। उहाँ मेरो सबैभन्दा ठूलो चियरलिडर हुनुहुन्थ्यो। सतीश कौशिक धेरै सफल अभिनेता र निर्देशक हुनुहुन्थ्यो। उहाँ धेरै दयालु र वास्तविक मानिस हुनुहुन्थ्यो। उहाँको याद आइरहनेछ।’
सतीश कौशिक हरियाणाका थिए। बलिउडमा डेब्रयू गर्नुअघि उनी थिएटरमा अभिनय गर्थे। एक अभिनेताको रूपमा, सतीश कौशिक फिल्म मिस्टर इन्डियामा क्यालेन्डर, दीवाना मस्तानामा पप्पु पेजर र ब्रिटिश फिल्म ब्रिक लेनमा चानु अहमदको भूमिकाका लागि परिचित थिए।
सतीश कौशिकले सन् १९९० मा ‘राम लखन’ र १९९७ मा ‘साजन चले ससुराल’का लागि उत्कृष्ट हास्य कलाकारको फिल्मफेयर पुरस्कार पनि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।