फाइल तस्बिर।
काठमाडौं– सेतो मच्छिन्द्रनाथको रथयात्रा व्यवस्थापन गर्नका लागि ११ सय ४३ जनाको समिति गठन गरिएको छ।
विगतदेखि जात्रा व्यवस्थापनमा योगदान दिने अग्रज, स्थानीय संघ संस्था, क्लबको सहभागितामा यस वर्ष भव्य र सभ्य रुपमा जात्रा सम्पन्न गर्न समिति गठन गरिएको हो।
समितिको संयोजकमा सुजिब बज्राचार्य, उपसंयोजक गणपति लाल श्रेष्ठ रहेका छन्। त्यसैगरी, शान्ति सुरक्षा तथा ट्राफिक प्रहरी समन्वयमा रवि तण्डुकार, स्वयमसेवक परिचालन समन्वय मच्छिन्द्र क्लब, दीपेश महर्जन, राजेश मानन्धर, केयुर मान सिंह, अमृत महर्जन रहेका छन्।
पहिलो दिन तीनधारा पाठशालादेखि रानिपोखरी प्रहरी आयुक्त कार्यालयसम्म महिलाले रथ तान्ने समन्वयमा नानिहिरा महर्जन, मिरा महर्जन ताम्राकार, क्लब संघसंस्था समन्वय दीपक महर्जन, केयुर मान सिंह, अमृत महर्जन, बाजा खलःसमन्वय, पञ्च महर्जन रहेका छन्।
सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्या अवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो। काठमाडौं उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन रहेको छ।
करुणामय र आर्या अवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जन बहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ।
अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न गर्ने प्रचलन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।