काठमाडौं – एक वर्षपछि रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिलेसम्म १५ देशले आफ्नो स्थान सुरक्षित गरेका छन्। बाँकी १७ स्थानका लागि छनोट प्रतियोगिता जारी छ। ३२ स्थानको लागि ६ महादेशमा २ सय ९ टिमबीच २ वर्षदेखि छनोट जारी छ।
आयोजक रसियासहित युरोपबाट स्पेन, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड र पोल्यान्ड गरी ६ टिम छनोट भएका छन्। रसिया एघारौं पटक विश्वकपमा छनोट भएको हो। यस्तै जर्मनी १९औं पटक, इंग्ल्यान्ड १५औं पटक, बेल्जियम १३औं पटक र स्पेन १५औं पटक विश्वकपमा छनोट भए। आठौं पटक छनोट भएको पोल्यान्ड सन् २००६ पछि विश्वकपमा फर्कियो।
एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छनोट भइसकेका छन्। इरान पाँचौ पटक, जापान छैटौं पटक, दक्षिण कोरिया दसौं तथा साउदी अरेबिया पाँचौ पटक विश्वकपमा छनोट भए। एसियाबाट साउदी २००६ पछि पहिलो पटक छनोट भयो।
यता उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको र कोस्टारिकाले विश्कपमा स्थान पक्का गरेका छन्। मेक्सिको १६औं तथा कोस्टारिकाले पाँचौ पटक विश्वकपमा स्थान बनाएका हुन्।
दक्षिण अमेरिकाबाट छनोट भएको पाँच पटकको विश्वविजेताब्राजिल सबै विश्वकपमा छनोट हुने एकमात्र टिम हो।
अफ्रिकाबाट नाइजेरिया र इजिप्टले विश्वकपमा स्थान बनाएका छन्। नाइजेरियाले छैटौं पटक विश्वकप खेल्न लागेको हो। इजिप्ट तेस्रो पटक विश्वकपमा छनोट भयो। पछिल्लो पटक इजिप्टले सन् १९९० को विश्वकप खेलेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।