काठमाडौं- आईसीसी लिग–२ अन्तर्गतको त्रिदेशीय ओडीआई शृंखलामा यूएईलाई नेपालले २ सय ३० रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर उक्त लक्ष्य दिएको हो।
भीम सार्कीले नेपालको धरमराएको ब्याटिङ सम्हालेर खेललाई लयमा ल्याएका थिए। सार्कीले ९९ बलमा ७० रन बनाएका हुन्। नेपालका लागि आरिफ शेखले ५६ बलमा ४३ रन बनाउँदै अविजित रहे। यसैगरी सन्दीप लामिछानेले ४० बलमा २७ रन बनाएर महत्त्वपूर्ण योगदान गरे। करण केसीले ११ बलमा १७ रन र प्रतिश जिसीले ६ बलमा ११ रन बनाए।
नेपालले ५० रन नजोड्दै महत्त्वपूर्ण तीन विकेट गुमाएको थियो। ओपनर आसिफ शेख १४ बलमा जम्मा ६ रन बनाएर क्याचआउट भए।
त्यसैगरी, ज्ञानेन्द्र मल्लको खराब ब्याटिङ जारी रहने क्रम दोहिरिँदा उनी २६ बलमा जम्मा ११ रन बनाएर बाहिरिए। टप थ्री पुगेर विश्वकप छनोट खेल्न निर्णायक मानिएको यो खेलमा कप्तान रोहित पौडेल पनि सम्हालिन सकेनन्।
उनी ५ बल खेलेर एक रन मात्रै जोड्दै पेभेलियन फर्किए। राम्रो प्रदर्शन गरिरहेका कुशल मल्ल ३२ रनमा बाहिरिए भने दीपेन्द्र सिंह ऐरीले जम्मा ४ रन जोड्न सके।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।