काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले आज यूएईसँग खेल्दैछ। विश्वकप छनोट खेल्नका लागि टप थ्रीमा पर्न नेपाल र यूएई दुवैले अब हुने सबै पाँचवटा खेल जित्नुपर्ने हुन्छ।
सोमबार नेपाल र यूएईबीच हुने खेल दुवै टोलीका लागि ‘निर्णायक’ बन्नेछ। यसअघि केही सहज अवस्थामा रहेको यूएई अबका खेलमा दबाबमा हुँदा नेपाललाई सहज हुनेछ। नेपाल बराबर नै ३१ खेल खेलिसकेको यूएई ३१ अंक सहित पाँचौं स्थानमा छ।
पीएनजीले घरेलु मैदानमा जारी सिरिजमा लगातार दुईपटक यूएईलाई हराउँदा नेपाललाई राहत भएको छ। सोमबार नेपालसँग प्रतिस्पर्धा गर्ने यूएई विश्वकप छनोटमा पुग्न नेपालजत्तिकै दबाबमा छ।
टप ‘थ्री’मा पर्दै विश्वकप छनोटमा पुग्न बाँकी पाँचवटै खेल जित्नैपर्ने दबाबमा यूएई पनि पुगेको छ। समान ३१ खेल खेलेर ३० अंक जोडेको नेपालले पनि टप ३ मा पुग्न पाँचवटै खेल जित्नुपर्नेछ।
सोमबारको खेल गुमाउने टिमले विश्वकप खेल्ने सम्भावनासमेत गुमाउनेछ। अहिले सबै ३६ खेल खेलिसकेको स्कटल्यान्ड २४ जित र १० हारका साथ ५० अंक बनाएर शीर्ष स्थानमा छ। ३६ खेलमा २१ मा जित र १३ मा हार बेहोरेको ओमानले ४४ अंकका साथ विश्वकप छनोट यात्रा पक्का गरिसकेको छ।
३६ खेल नै पूरा गरेको नामिबियाले १९ जित र १६ हारका साथ ३९ अंक जोडेर तेस्रो स्थानमा छ। अब हुने पाँच खेलमा नेपाल वा यूएईले पाँचवटै जितेमा नामिबिया चौथो नम्बरमा पुग्नेछ। यदि बाँकी खेलमा उनीहरुले एउटा-एउटा गुमाए भने पनि नामिबिया नै विश्वकप छनोटमा जानेछ। सोमबारदेखि नेपाल र यूएई आगामी सबै खेल्ने जित्ने प्रयाससहित मैदानमा उत्रिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।