काठमाडौं- नेकपाका नेत्रविक्रम चन्दले माओवादीलाई अपराधी भन्नेहरुको आलोचना गरेका छन्। आइतबार आयोजित ‘शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन’ को कार्यक्रममा सम्बोधन गर्दै उनले आफूहरु अपराधी नभएको बताए।
‘अपराधी बनाउन खोजिएको छ र व्याख्या गर्न खोजिएको छ, मैले भनेको छु- ती मान्छेहरु जनयुद्धमा भेटिएका भए सायद त्यहीँ सिद्धिन्थे’, उनले भने।
उनले माओवादीले बिगार्यो, भत्कायो भन्नेहरुको प्रतिवाद गरेका थिए। चेतावनीको भाषामा उनले भने- ‘प्रचण्डजी के गर्नुहुन्छ, उहाँको कुरा। तर मैले के भनेको छु भने, माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ।’
उनले दुई-ढाई सय वर्ष नेपाली जनतालाई टाउकादेखि खुट्टासम्म लुटेर चुसेर अर्बौं सम्पत्ति थुपार्ने नेपालका सामन्त र फटाहहरु अपराधी र हत्यारा भएको भन्दै आफ्नो अधिकारका निम्ति विद्रोह गर्ने जनता अपराधी नभएको बताए।
उनले बेपत्ता योद्धाहरुका बारेमा नबोलेर उल्टै अपराधी जस्तो बनाउन खोजिएको भन्दै त्यो असम्भव भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।