प्रधानमन्त्री प्रचण्ड (फाइल तस्बिर) काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक माओवादीहरु एक ठाउँ आएर सडकमा लाखौं जनता उतार्नुपर्ने बेला भएको बताएका छन्। अहिले पनि प्रतिक्रियावादी शक्तिहरु सक्रिय भएर आफूहरुविरुद्ध लागिरहेको बताउँदै उनले एक ठाउँमा आएर सडकमा उतिर्नुपर्ने उल्लेख गरेका हुन्।
शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘एकचोटी माओवादीहरु एक ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने माओवादीले फेरि विजययात्रा सुरु गर्नेछ।’
अहिले एकताबद्ध हुनुपर्ने बोध सवैलाई भएको प्रचण्डको भनाइ छ। उनले थपे, ‘एकताबद्ध हुनुपर्छ भन्ने जुन बोध गरिएको छ। त्यो शक्ति हो भन्ने ठान्छु र सवै साथीहरुलाई गम्भीरता साथ विचार गर्न अनुरोध गर्दछु।’
माओवादी आनदोलन र त्यसको प्रभाव अनेक धारामा विभाजित भए पनि त्यो एक ठाउँमा आउँदा जबर्जस्त प्रभाव रहेको प्रचण्डले दाबी गरे। यही बुझेर नै प्रतिक्रियावादीहरुले भ्रम छर्ने र घेरा हाल्ने षड्यन्त्र गरेको उनको भनाइ छ।
युद्धमा एकै ठाउँमा भए पनि शान्ति प्रक्रियामा आएपछि यो अनेक भंगालामा विभाजित भएको उनले उल्लेख गरे। उनले भने, ‘फेरि विशाल सागर बनेर जाने बेला भयो। बाबुरामजीले, विप्लवजी र किरणजीले हासिल गरेका अनुभव मेरा पनि हुन्। धर्मेन्द्रजी अनुभव गर्दै हुनुहुन्छ। यी तीतामीठा र राम्रा नराम्रा सबै हाम्रै हुन्।’
डा बाबुराम भट्टराईसँग आफू निकट रहेको बताउँदै प्रचण्डले अरुसँग पनि सकारात्मक कुरा भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।