नेवि संघ अध्यक्ष दुजाङ शेर्पा (फाइल तस्बिर) काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)मा भने आन्तरिक विवाद झन् चर्को बन्दै गएको छ।
पार्टीको संस्थापन पक्ष र इतर पक्षको भिडन्त नेवि संघमा पनि देखिएको छ। पार्टीले साउन मसान्तसम्म भातृ संगठनहरुलाई पूर्णता दिने भनिए पनि नेवि संघ कार्यसमितिविहीन छ।
डुजाङ सेर्पाले अध्यक्षको जिम्मेवारी पाएको भए पनि हालसम्म संगठनले पूर्णता पाएको छैन। स्ववियु निर्वाचनका लागि क्याम्पसहरुमा संगठन दर्ता गर्दा नेवि संघको संस्थापन र इतर पक्षले छुट्टा–छुट्टै रुपमा दर्ता गरेका छन्।
संगठन दर्ताको अघिल्लो दिन नेवि संघ त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा संस्थापन पक्षको आक्रमणमा परी पूर्व कोषाध्यक्ष शिव रिमाल, नेविसंघ त्रिविका पूर्व अध्यक्ष हरि आचार्य सहितका नेताहरु घाइते भए। उक्त घटनाको विषयलाई लिएर अध्यक्ष दुजाङ सेर्पाले विवादलाई सम्वादको माध्यमबाट हल गर्न प्रतिबद्ध रहेको जानकारी दिएका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतले संगठनलाई मजबुद बनाउनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
संस्थापन इतर पक्षका नेता योगेन्द्र रावलले भने अध्यक्ष सेर्पाको प्रेस विज्ञप्ति कर्मकाण्डी भएको बताएका छन्। दोषी आफैं भएपछि दोषीमाथि कारबाही गर्छु भन्ने सामर्थ्य अध्यक्षमा नभएको रावलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।