काठमाडौं– सरकार विस्तार र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सत्ता गठवन्धनको वैठक बोलाइएको छ। बैठक आइतबार अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने जनाइएको छ। यस्तै, प्रदेश सरकारका बारेमा पनि छलफल हुने कार्यसूची रहेको छ।
एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिएकाले मन्त्रिपरिषद् विस्तार बारे पनि प्रधानमन्त्री प्रडण्डले सहयात्री दलसँग प्रस्ताव गर्ने छन्। प्रधानमन्त्री प्रचण्डले केही दिन अघि मन्त्रिपरिषद् विस्तारको गृहकार्य भइरहेको बताएका थिए।
फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ। नेपाली कांग्रेस लगायतका दलहरु भने राष्ट्रपति निर्वाचनपछि मात्र सरकार विस्तार गर्ने सोचमा छन्। तर प्रधानमन्त्री भने अहिले नै टुंग्याएर अघि बढ्नुपर्ने पक्षमा छन्।
राष्ट्रपति निर्वाचन लगत्तै विश्वासको मत पनि लिनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्ड सहयात्री दलहरुबीच प्याकेजमै सहमति हुनुपर्ने पक्षमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।