धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताएका छन्।
नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अल्पमतमा रहेका शाहले नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर विश्वासको मत पाउने बताएका हुन्।
मुख्यमन्त्री शाहले भने, ‘प्रदेशमा सबै दलसँग छलफल भएको छ। सबै दलको साथ र समर्थनबाटै मैले विश्वासको मत लिने छु। सबै दलले सहयोग गर्ने विश्वास लिएको छु। यद्यपि समय–समयमा परिवर्तन भइरहने नेपाली राजीतिले के हुन्छ भन्न सकिँदैन।’ उनले केन्द्रको राजनीतिक समीकरण अहिले आफनो पक्षमा रहेको बताए।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका सभामुख बाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र सांसद १ जना छन्।
मुख्यमन्त्री शाहले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी ४१ जनाको समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।