वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाका १४ वडामध्ये ५ वडा कार्यालयले अझै पनि भाडाकै घरबाट आफ्नो सेवा प्रवाह गरिरहेका छन्। आफ्नै भवन र स्वास्थ्य चौकीको भवनबाट विभिन्न ९ वडा कार्यालयहरु सञ्चालनमा रहेका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए।
‘नगरपालिकासित भवन बनाउनका लागि बजेट नहुने समस्या छ,’ उनले भने, ‘संघीय तथा प्रदेश सरकारले पनि भवन निर्माणका लागि त्यति धेरै महत्व नदिने भएकाले वडा कार्यालयका भवन निर्माण गर्न नसकिएको हो।’
वडा नम्बर १३ को कार्यालय भवन निर्माण सम्पन्न हुन लागेको उनले जानकारी दिए। हाल स्वास्थ्य चौकीको भवनबाट सेवा दिइरहेको वडा नम्बर ४ को भवन निर्माणका लागि प्रक्रिया पूरा भइ निर्माण थालनी भएको छ। वडा नम्बर ९ को लागि पनि साविकको पशु सेवा केन्द्र रहेको भवनबाट सेवा दिने तयारी भइरहेता पनि निर्णय हुन बाँकी रहेको जनाइएको छ।
आफ्नै वडा कार्यालयको भवन नभएका वडाका लागि जग्गा प्राप्तिका लागि प्रक्रियामा रहेको, तर उपयुक्त जग्गा नपाइएको उनले बताए। भाडामा रहेका वडामा वडा नम्बर ८, ९, १०, ११ र १३ छन्। नगरपालिकाले मासिक घर भाडावापत ४९ हजार ५१० बुझाउने गरेको नगरपालिकाका लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए।
उनका अनुसार वडा नम्बर ८ को मासिक ७ हजार ७००, वडा नम्बर ९ को १२ हजार, वडा नम्बर १० को ११ हजार, वडा नम्बर ११ को ८ हजार ८०० र वडा नम्बर १३ को १० हजार १० रकम घरभाडा वापत बुझाउने गरेको छ। नगरपालिकाले ५ वडाको कार्यालय सञ्चालन गरेवापत वार्षिक ५ लाख ९४ हजार १ सय २० घरभाडा बुझाउने गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।