काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकालगायतका देशका ठूला सहरका सडकमा अलपत्र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकी छिन्।
आज यहाँ प्राधिकरणको २५औं वार्षिकोत्सवका अवसरमा उनले स्थानीयको गुनासो चेतावनीमा परिणत हुनअघि तार व्यवस्थापनमा जुट्नपर्ने बताएकी हुन्। उनले भनिन्, ‘ललितपुर महानगरपालिकामा स्थानीयले पुरातात्विक क्षेत्रमा तार व्यवस्थापन नगरे आफूहरुले काट्ने भनि चेतावनी दिनुभएको रहेछ। चेतावनीपछि सेवा प्रदायक संस्थाले सात दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभएको छ।’
उनले थपिन्, ‘सडकलाई सुन्दर र व्यवस्थित बनाउन अव्यवस्थित तार हटाइ व्यवस्थित गर्न जरुरी छ। यसको सुरुवात ठूला सहरबाट सुरु गरौं।’ प्राधिकरणलाई आवश्यक कानुन र नियमावली बनाउन मन्त्रालय लागि परेको बताउँदै मन्त्री शर्माले तत्काल गर्न सकिने कामका लागि सरोकारवाला जुट्नपर्ने बताइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्रप्रसाद सुवेदीले प्राधिकरणले सेवा विस्तार र गुणस्तर वृद्धि गर्न सुझाव दिए। उनले भने, ‘कानुन संशोधनको थालनी भइसकेको छ। प्राधिकरणले सेवा विस्तार गुणस्तर बढाइ राम्रो नतिजा दिने गरी काम गर्नुपर्छ।’
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले काठमाडौं उपत्यका लगायतका प्रमुख सहरमा अव्यवस्थित रुपमा रहेका तार व्यवस्थापनका लागि भूमिगत रुपमा अप्टिकल फाइबर राख्ने काम थालनी भएको जानकारी दिए।
सडक विस्तार र खम्बा सार्ने तथा तार व्यवस्थापन गर्ने क्रममा दूरसञ्चार पूर्वाधारमा असर परेको भन्दै उनले मन्त्रालयको ध्यानआर्कषण समेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।