काठमाडौं– राष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन्।
शुक्रबार पार्टीका नेताहरूसहित काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पुगेर नेम्वाङले अध्यक्ष राउतसँग भेट गरी राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएको उल्लेख गर्दै मत दिन अनुरोध गरेका हुन्।
राष्ट्रपतिमा नेम्वाङ उपयुक्त पात्र भएकाले आफूहरूको पनि सद्भाव र शुभकामना रहेको अध्यक्ष राउतले बताएको भेटमा सहभागी एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। गुरुङका अनुसार राउतले जनमत पार्टीलाई मूल धारमा ल्याउन पनि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नेम्वाङको प्रशंसा गरेका थिए।
एमालेका नेताहरूले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए। एमाले उपमहासचिव गुरुङले भने, ‘हामीले जनमत पार्टीका अध्यक्षज्यूसँग हाम्रो पार्टीका तर्फबाट उम्मेदवार बनाइनु भएका पूर्वसभामुख, संविधानसभाका अध्यक्ष, हाम्रो पार्टीको पनि उपाध्यक्ष माननीय सुवास नेम्वाङको बारेमा उहाँलाई बतायौं। हाम्रो पार्टीको उम्मेदवारलाई जिताउनका लागि उहाँहरूसँग पनि सहयोग माग्यौं।’
यता, जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरूले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने एमाले नेताहरूलाई बताएका थिए। संविधान जारी गर्ने बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिको रुपमा राम्रो भूमिका निर्वाह गर्न सक्छु भनेर नेम्वाङले मत मागेको र आफूले पार्टीभित्र छलफल गरेर जवाफ दिने बताए।
‘राष्ट्रपतिमा उहाँले उम्मेदवारी दिनु भएको छ। त्यही मत माग्नका लागि उहाँ आउनु भएको थियो। हामीले पनि छलफल राख्छौं। अनि मात्रै जवाफ दिन्छौं भनेर अहिले भनेका छौं’, राउतले भने।
यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचनका लागि कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादी केन्द्रसहितका ८ राजनीतिक दलहरूको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।