काठमाडौं– प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन्।
भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेकी हुन्। राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उनको टिप्पणी छ। उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन नसकिने चेतावनी दिइन्।
पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ थियो। उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन्।
‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ। तर, उपसभामुख भएको मेरो अहिले एक महिना भयो। मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ। मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरु रहेछ’, उनले भनिन्, ‘म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थेँ। भीआईपीको सुविधा प्रयोग गर्दिनँ भन्थेँ। पहिला पुरुष उपसभामुख हुँदाखेरी चाहिँ आर्मी दिन्थ्यो रे। उहाँहरुलाई चाहिँ मन्त्री सरह सुविधा हुन्थ्यो रे। उपसभामुखलाई घर दिने रे भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नु परेको छ।’
उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने शंका गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।