काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने उनको भनाइ छ।
भ्रष्ट्राचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले २०४६ सालयताका भ्रष्टहरुलाई छानबिन गरी कारबाही गर्न दलहरु तयार हुनुपर्ने बताए। अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढ्नुपर्ने बताए।
भ्रष्टहरुलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उनको भनाइ छ।
अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरुलाई सशक्त बनाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।