काठमाडौं– नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन्। भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र लोसपा अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने जवाफ दिएका लोसपा नेता राजेन्द्र महतोले जानकारी दिए।
महतोले आफूहरु ८ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यसबारेमा निर्णय गर्ने बताए।
‘हामी ८ दलीय गठबन्धनमा सहभागी छौँ। र, पनि उहाँले आग्रह गर्नुभएको छ। हाम्रो अध्यक्षले पार्टीको बैठकमा आग्रह गर्छौं, कुरा गर्छौं भन्नुभएको छ’, महतोले भने।
भेटपछि नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताए। उनले राष्ट्रपति जस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्न नहुने बताए।
सचिव भट्टराईले राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि भेट भएको र प्रधानमन्त्री सकारात्मक रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।