काठमाडौं- सभामुख देवराज घिमिरेले संसदमा महिला सांसदहरुले उठाएका आवाजलाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्ने बताएका छन्। प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा सभामुख घिमिरेले सञ्चारमाध्यमले विषयभन्दा पनि व्यक्तिलाई केन्द्रित गरेर प्राथमिकतामा राख्ने गरेको बताए।
‘म सभामुख भएको धेरै समय त भएको छैन, तर संसदमा महिला माननीयका कतिपय गम्भीर विषयलाई पनि मिडियाले प्राथमिकता नदिएको अनुभव गरेको छु,’ उनको भनाइ थियो, ‘व्यक्ति हेरेर केही माननीयहरुले बोलेको कुरा चाहिँ प्राथमिकताका साथ आउँछन्।’
सभामुख घिमिरेले व्यक्तिभन्दा पनि विषयलाई प्राथमिकता दिन सके सञ्चारमा महिलाका सवालले प्राथमिकता पाउने उल्लेख गरे। उनले संघीय संसदले विगतमा महिला सांसदका लागि सञ्चार सम्बन्ध विस्तारका लागि कार्यक्रम गर्ने गरेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जानकारी दिए।
सभामुख घिमिरेले संसद रिर्पोटिङमा पत्रकार महिलाहरुको उपस्थिति कम रहेको बताउँदै सञ्चारसँग सम्बन्धित संस्थाहरुले सकारात्मक पहल गर्ने विश्वास व्यक्त गरे।
उनले प्रेस काउन्सिल ऐनलाई संशोधन गर्दै समयसापेक्ष बनाउने धारणाप्रति आफू सकारात्मक रहेको बताउँदै सरोकारवाला निकायलाई छलफल गर्न आग्रह गरे। ‘सञ्चारसँग सम्बन्धित रोकिएका विधेयक अगाडि बढाउन र समयानुकुल बनाउनेतर्फ पनि तपाईंहरुले गृहकार्य र छलफल गर्न सक्नुहुन्छ,’ उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।