काठमाडौं– नेकपा(एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन्।
राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीबार पार्टीका नेताहरूसहित राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई आग्रह गरेका हुन्।
नेम्वाङ एमाले नेताहरू पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरूसहित त्यहाँ पुगेका हुन्।
भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङ्देनसहित नेताहरू डा प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्र, धवलसमशेर राणा लगायतको उपस्थिति थियो।
भेटघाटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताए। उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताए।
भेटघाटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरूको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरे।
उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्यको निरन्तरता हुने विश्वास व्यक्त गरिन्।
राप्रपा नेताहरूले उम्मेदवार स्वयं आफूहरूको कार्यालयसम्म आएर मत मागेकोप्रति खुशी व्यक्त गरेका सांसद भट्टराईले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।