काठमाडौं– त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ। आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेविसंघबाट कसलाई उम्मेदवार बनाउने विषयमा संस्थापन र इतरपक्षबीच झडप भएको हो।
झडपमा परी नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल गम्भीर घाइते भएका छन्। नेविसंघका अध्यक्ष डुजाङ शेर्पाले भाडामा गुण्डा ल्याएर सांघातिक आक्रमण गर्न लगाएको इतर पक्षका नेता योगेन्द्र रावलले बताए।
उनले नेविसंघ अध्यक्ष शेर्पाको उक्त कार्य निन्दनीय भएको बताउँदै त्यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिए। नेविसंघको कोइराला पक्षकाले त्रिवि लगायत उपत्यकाका क्याम्पसहरुमा प्रतिनिधि खटाउने क्रममा आफ्ना समूहका मान्छे राखेपछि संस्थापन पक्षले विरोध जनाएको हो।
संस्थापन पक्षले आधिकारिक आफूहरु रहेको भन्दै अर्को पक्षले खटाएका प्रतिनिधि अवैध रहेको भन्दै विवाद गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।