काठमाडौं– नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ।
बिहीबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसद्मा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रमस्वरुप नै रास्वपा सभपति लामिछानेसँग भेट गरेका हुन्।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवारी दिएका नेम्वाङलाई सहयोग गर्ने कुरा भनाइबाट बुझेको बताए।
उनले यसबेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको बताए। उनले रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्ने कुरा राखेको जानकारी दिए।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफल पछि निर्णय लिने जानकारी गराएको बताए।
‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ। उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शंका छैन। निर्णय आज नै गर्न सकिँदैन, केन्द्रिय समिति र संस्दीय दलको बैठकमा राख्छौँ र त्यहाँ निर्णय हुन्छ’, उनले भने।
महामन्त्री ढकालले पुस १० गतेको सहमति आफूहरुले मनन् गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्ने जानकारी दिए।राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु सांसदहरुलाई भेट्ने क्रममा व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।