काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गरेका छन्।
बिहीबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उनले यस्तो बताएका हुन्।
उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आम मानिसहरुले माओवादी केन्द्र अस्थिर भएको भनिरहे पनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने दाबी गरे।
माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरु अघि नबढ्ने दाबी गरे। उनले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी लिइरहेको दाबी गरे।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र बेपत्ताहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको बताए।
उनले राजनीतिमा अहिले हरेक स्थानमा चुनौती रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताए। उपमहासचिव गजुरेलले प्रधानमन्त्री प्रचण्ड पदका लागि सत्तामा नगएको दाबीसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।