काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड सहित राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा बनेको ८ दलीय गठबन्धनका शीर्ष नेताले बिहिबार आफ्ना पार्टीका सांसदहरुलाई संयुक्त रुपमा सम्बोधन गर्दै छन्। अपराह्न १ बजे रोयल बैंक्वेट, तीनकुनेमा ८ दलका सांसदहरूलाई संयुक्त रुपमा अभिमुखीकरण राखिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
उक्त कार्यक्रमलाई प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्त ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने छन्।
उक्त अभिमुखीकरणमा सबै पार्टीका संघीय सांसदलाई नयाँ बनेको गठबन्धन र राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर नेताहरुले सम्बोधन गर्न लागेको जनमत पार्टीका सांसद तथा खानेपानीमन्त्री अब्दुल खानले बताएका छन्। यस्तै, फागुन २४ गते प्रदेश र संघका सांसदहरुलाई पनि संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको खानले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।