काठमाडौं– कलाकार जितु नेपाल पहिलो पटक दीपक–दीपा ब्यानरको फिल्ममा देखिनेछैनन्।
‘छ एक्कान छ’ हुँदै ‘छ माया छपक्कै’सम्म आइपुग्दा ६ वटा फिल्ममा महत्वपूर्ण भूमिकामा देखिएका जितु यसपटक किन टिमबाहिर भए? चासोको विषय छ।
‘मुन्द्रेको कमेडी क्लब’को पहिलो सिजनमा दीपाश्री निरौला कार्यक्रमबाट बाहिरिएपछि उनीहरूबीचको आन्तरिक तिक्तता काममा देखिएको छ। यद्यपि जितुले आफू नभए पनि ‘छक्का पञ्जा’ टिमलाई शुभकामना दिएका छन्।
उनले बिहान फेसबुक स्टाटासमार्फत् शुक्रबारबाट प्रदर्शनमा आउँदै गरेकाे फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’लाई शुभकामना दिए। ‘यसपालि छक्का पञ्जा–४’मा मेरो भूमिका भनेको साथीहरूलाई बधाई र शुभकामना दिनु हो। जुन कुरा मैले निरन्तर गरिरहेको छु र आज पनि यो भूमिका निभाउँदै छु। चलचित्रले बेसरी कमाइ गरोस् सबैको भागमा करोडौं करोड परोस्।साथै भोलिबाटै प्रदर्शन हुने छड्के–२ परिवारलाई पनि धेरै धेरै शुभकामना,’ जितुले लेखेका छन्।
जितु यसपालि फिल्ममा किन परेनन् भन्ने प्रश्नमा दीपाश्री निरौला कथाले नमागेको बताउँछिन्। ‘कथाले नमागेको हो। जितु हाम्रो साथी हो। उसलाई सानो भूमिका दिएर झारा टार्ने काम पनि भएन,’ उनी भन्छिन्, ‘अर्को फिल्ममा फेरि सहकार्य गर्न सक्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।