काठमाडौं– प्रदेश १ को नामकरणसम्बन्धी प्रस्तावमा एउटा संशोधन परेको छ। यसअघि दुई प्रस्ताव प्रदेश सभामा पेस भएका थिए।
नेकपा एमालेले कोसी प्रदेशको प्रस्ताव राखेको थियो भने एकीकृत समाजवादीले किराँत–लिम्बुवान–सगरमाथा प्रदेशको प्रस्ताव दर्ता गराएको थियो।
एकीकृत समाजवादी र जसपा मिलेर दर्ता गराएको उक्त प्रस्ताव सुरुमै अस्वीकृत भएको थियो। अस्वीकृत भएपछि ‘कोसी प्रदेश’ राख्ने प्रस्तावमाथिको छलफल भएको थियो।
छलफलपछि प्रदेश सभा २ घण्टाका लागि रोकिएको थियो। सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका समय दिएका थिए। संशोधन दर्ताको समय सकिएपछि अहिले अर्को बैठक सुरू भएको छ।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र कुमार राई र सोही पार्टीका प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्त रूपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
कोसी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए। प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका थिए।
एमाले सांसदले बोलेको कुरामा केही बेर विवाद पनि भएको थियो। पछि सभामुखले रेकर्ड मेटाउन निर्देशन दिएका थिए। कोसी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा छन्। विपक्षमा ४ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।