काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला भनिने नेताहरुले गरिरहेको राष्ट्रदोहन र नीतिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तीव्र रोष प्रकट गरेका छन्। आइतबार पार्टी आबद्ध जनवर्गिय संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्।
आर्थिक सहायताको नाममा पूर्व राष्ट्र प्रमुख र पूर्व प्रधानमन्त्रीहरु नै नीतिगत भ्रष्टाचारमा लिप्त भएको उनले आरोप लगाए। ‘पूर्व राष्ट्र प्रमुख र पूर्व प्रधानमन्त्रीहरु नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो’ थापाले भने।
नेता थापाले राजाको मायाले नभइ गणतन्त्रको भद्रगोल व्यवस्थाले नै गर्दा जनता गणतन्त्रको विकल्पमा सडकमा आउन बाध्य हुने चेतावनी दिए। थापाले मुलुकको अवस्था अत्यन्तै नाजुक भएका कारण जनता निराश भएको बताए।
उनले गणतन्त्रका संवाहकरु हौं भन्नेहरु नसच्चिए देश दुर्घटनामा जाने दाबी गरे। उनले गरिब जनता सिटामोलका लागि तड्पिरहँदा नेताहरु ब्रह्मलूटमा लिप्त भएको बताए।
उनले भने, ‘जनता सिटामोलका लागि छट्पटिरहेका छन्। ठूला नेताहरु भने ब्रह्मलुटमा लिप्त छन्। यो दुर्घटनाको संकेत हो।’ भ्रष्टाचार र संघीयताको भारले मुलुक कंगाल भएको भन्दै उनले देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका नै प्रभावहीन बन्दै गएको टिप्पणी गरे।
उनले नेता/कार्यकर्ताहरुलाई अब सडक संघर्षको लागि तयारीमा लाग्न निर्देशन दिए। कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौलालगायत जनवर्गिय संगठनका अध्यक्षहरुले आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।