काठमाडौं– प्रदेश १ को नामकरणका लागि प्रदेश सभामा प्रस्ताव भएर स्वीकृत भएको नाममाथिको छलफल सकिएको छ। नेकपा एमालेले प्रस्ताव गरेको ‘कोसी प्रदेश’को नाम प्रदेश सभामा ध्वनि मतले पारित भएको थियो।
पारित भएको प्रस्तावमाथि करिब दुई घण्टा छलफल भएको छ। छलफल सकिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
यस्तै अहिले प्रदेश सभा बैठक दुई घण्टाका लागि स्थगित गरिएको छ। फेरि बस्ने बैठकले कोशी प्रदेश नामका विषयमा मत विभाजन गरी निर्णय लिनेछ। उक्त प्रस्तावमा ८२ जनाले यसअघि हात उठाएका छन्। एमाले सांसद रामबहादुर राना मगरले कोसी प्रदेश नाम प्रस्ताव गरेका थिए।
प्रदेश सभामा नेकपा एकीकृतका सांसद राजेन्द्रकुमार राईले किरात–लिम्बुवान–सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेस गरेका थिए। प्रदेश सभाले मगरले पेस गरेको प्रस्तावलाई छलफलका लागि स्विकार्दै राईले पेस गरेको प्रस्तावलाई अस्वीकार गरेको थियो।
प्रदेश सभाको बहुमतले कोसी नामलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किराँत–लिम्बुवान–सगरमाथाको प्रस्ताव अस्वीकृत भएको जानकारी प्रदेश सभालाई गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।