काठमाडौं– प्रदेश १ प्रदेश सभा बैठकमा उक्त प्रदेशको नाम ‘कोसी’ राख्ने नेकपा एमालेको प्रस्तावमाथि छलफल सुरु भएको छ। एमाले सांसद रामबहादुर राना मगरले कोसी प्रदेश नाम प्रस्ताव गरेका थिए।
उनले पेस गरेको प्रस्तावमाथि छलफल सुरु भएको हो। प्रदेश सभामा माओवादीका तर्फबाट इन्द्र आङ्गबोले पहिचान पक्षधर कमजोर भएकाले कोसी प्रदेश स्वीकार गर्न परेको बताए।
उनले अघिल्लो पटकभन्दा यसपटक पहिचानको पक्षधर सांसद कम भएका कारण आफूहरुले कोसी प्रदेशमै सहमति जनाएको बताए।
प्रदेशसभामा नेकपा एकीकृतका सांसद राजेन्द्रकुमार राईले किरात–लिम्बुवान–सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेस गरेका थिए। प्रदेश सभाले मगरले पेस गरेको प्रस्तावलाई छलफलका लागि स्विकार्दै राईले पेस गरेको प्रस्तावलाई अस्वीकार गरेको थियो।
प्रदेश सभाको बहुमतले कोसी नामलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किराँत–लिम्बुवान–सगरमाथाको प्रस्ताव अस्वीकृत भएको जानकारी प्रदेश सभालाई गराएका थिए।
प्रदेश सभामा एमालेले पेस गरेको कोसी नाममाथिको छलफल आजै टुंग्याउने तयारी छ। छलफल पछि आजै मत विभाजनबाट नाम टुंग्याउने प्रदेश सभाको तयारी छ। उक्त प्रस्तावमा ८२ जनाले यसअघि हात उठाएका छन्।
कोसीको पक्षमा एमाले, नेपाली कांग्रेस, माओवादी र राप्रपा देखिएका छन्। विपक्षमा एकीकृत समाजवादी र जसपा हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।