काठमाडौं– प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाहरूका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन्।
बुधबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले पिछडिएका क्षेत्रका महिलाहरूलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनका लागि उनीहरूलाई सशक्तिकरण गर्न आवश्यक रहेकाले त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने तर्क गरिन्।
उपसभामुख रानाले पिछडिएको क्षेत्र र भूगोलबाट राजनीतिमा महिलाहरूको प्रतिनिधित्व गराउन बढी जोड दिन आवश्यक रहेको पनि बताइन्।
स्थानीय तहको वडामा पनि महिलाहरूको प्रतिनिधित्वका लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उपसभामुख रानाले सुगम क्षेत्रका गर्भवती महिलाहरूले समेत एम्बुलेन्स पाउने अवस्था नरहेको उल्लेख गरिन्।
बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरूलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने बताइन्।
५० प्रतिशतभन्दा बढी महिलाहरू रहेको मुलुकमा उनीहरूको प्रतिनिधित्व पनि सोही अनुसार स्थानीय तहदेखि संघसम्म हुनुपर्ने उनको तर्क छ। उपाध्यक्ष अर्यालले त्यसका लागि आफूले सक्दो पहल गर्ने पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।