ललितपुर– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्ने बताएका छन्।
बुधबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन्।
राष्ट्रसेवक कर्मचारीलाई सबल, सक्षम र दक्ष बनाउनका लागि स्टाफ कलेजको महत्त्वपूर्ण भूमिका रहने बताउँदै मन्त्री मोदीले भने, ‘राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्छ। बेलायत, अमेरिका, भारत लगायतका देशका कर्मचारीसँग प्रतिस्पर्धी बनाउनेगरी उनीहरुको क्षमता विकास गर्नुपर्छ।’
स्टाफ कलेजलाई नमूनाको रुपमा विकास गर्न आफूले खेल्नुपर्ने भूमिकामा कमी आउन नदिने मन्त्री मोदीको भनाइ थियो। सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने बाध्यतालाई आफूले बुझेको बताउँदै मन्त्री मोदीले राष्ट्रसेवक कर्मचारीहरुलाई व्यावहारिक ज्ञान पनि दिन आवश्यक रहेको बताए।
छिटो पैसा कमाउने धन्दामा लाग्ने प्रवृत्तिको विकास भइरहेकाले त्यसलाई रोक्नेतर्फ प्रशिक्षण प्रतिष्ठानले ध्यान दिनुपर्ने मन्त्री मोदीको सुझाव छ। आफूहरुले उन्नत र विशिष्ट प्रकृतिको काम गर्न नसके अरु कसैले गर्न नसक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।