काठमाडौं– सभामुख देवराज घिमिरेले सञ्चारमाध्यम सम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन्।
बुधबार नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले इञ्जा डेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभामुख घिमिरेले सञ्चारकर्मीहरूको हक अधिकार र व्यावसायिक दक्षताका लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरू अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरूलाई अघि बढाउन आफू तयार रहेको बताए।
उनले रोकिएका विधेयकहरूमा सञ्चार माध्यमहरूसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको बताए। सभामुख घिमिरेले सञ्चार माध्यमहरूले खोजमुलक र जनतामुखी समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिए।
उनले अवस्था परिवर्तनका लागि पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाइ राज्य सञ्चालनका अंगहरू व्यवस्थापिका र कार्यपालिकालाई प्रभावकारी बनाउन सञ्चार माध्यमहरूको भूमिका उल्लेखनीय रहेको बताए।
इञ्जाले इञ्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इञ्जा खोजी पत्रकारिता पुरस्कार, २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ।
त्यस्तै, ग्रामिण पत्रकारिता पुरस्कार, २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार, २०७९ मा इञ्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।