काठमाडौं– संघीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ।
बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्। सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको १ स्थान रिक्त रहेको व्यहोरा पनि जानकारी गराउनेछन्।
यस्तै, राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक,२०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नेछन्।
बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछन्। बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।