वार्सा – पोल्यान्ड फिफा विश्वकप २०१८ मा छनोट भएको छ। पोल्यान्डले युरोप छनोटको समूह 'ई' बाट शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान पक्का गरेको हो।
पोल्यान्डले समूहको अन्तिम खेलमा मोन्टेनेग्रोलाई ४–२ गोलअन्तरले पराजित गर्यो। यो समूहमा दोस्रो भएको डेनमार्क प्लेअफमा छनोट भयो। डेनमार्कले समूहको अन्तिम खेलमा रोमानियासँग १–१ को बराबरी खेल्यो।
समूह 'सी' मा उत्तरी आयरल्यान्डले प्ले अफमा स्थान बनायो। उत्तरी आयरल्यान्ड अन्तिम खेलमा नर्वेसँग १–० ले पराजित भयो। समूह 'सी' बाट जर्मनीले यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ। जर्मनीले अन्तिम खेलमा अजरबैजानलाई ५–० ले हरायो।
समूह 'एफ' मा स्लोभाकियाले प्ले अफमा स्थान बनाउँदा स्कटल्यान्ड समूहमा तेस्रो हुँदै बाहिरियो। अन्तिम खेलमा स्लोभाकियाले माल्टालाई ३–० ले हराएर स्कटल्यान्डलाई गोलअन्तरमा पछि पार्यो। स्कटल्यान्ड भने स्लोभेनियासँग २–२ को बराबरीमा रोकियो। यो समूहबाट इंग्ल्यान्ड यसअघि नै विश्वकपमा छनोट भइसकेको छ। इंग्ल्यान्डले समूहको अन्तिम खेलमा लिथुयानियालाई १–० ले हरायो। इंग्ल्यान्डको जितमा ह्यारी केनले २७ मिनेटमा पेनाल्टीमार्फत गोल गरे।
यता अफ्रिकाबाट इजिप्टले विश्वकपमा स्थान पक्का गरेको छ। समूह 'ई' को इजिप्टले अन्तिम खेलअघि नै रसियाको टिकट काट्ने क्रममा कंगोलाई २–१ ले हरायो। इजिप्टको जितमा मोहमद सलाहले ६३ र दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरे। त्यसअघि ८८ मिनेटमा कंगोका अर्नोल्ड बाउकाले बराबरी गोल फर्काए। इजिप्ट छनोट भएसँगै समूहका युगान्ड र घानाको विश्वकपमा छनोट हुने आशा सकिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।