काठमाडौं– उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले बैठकमा खाली सिट देखिन थालेको बताइन्। प्रतिनिधि सभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको उनले बताइन्।
उपसभामुख रानाले आफूले कुनै पनि काम अनुशासित भएर दिलदेखि गर्ने प्रतिबद्धतासमेत जनाइन्। उनले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनि प्रश्नसमेत गरिन्।
उपसभामुख रानाले संसद्मा जनताका कुराहरुलाई अनुशासित र मर्यादित रुपले उठाउने र विधेयकहरु बनाउने पनि बताइन्। ‘‘तपाईंहरु लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खाली सिट हुन्छ। मलाई दुःख लाग्छ। घरिघरि त धैर्यता लिँदा–लिँदा पनि इरिटेटेड हुन्छ। मलाई त प्रेसर पनि आइसक्यो। अस्तिसम्म त प्रेसर पनि थिएन। म जे पनि काम गर्छु अनुशासित भएर काम गर्छु। मन दिएर, दिल दिएर काम गर्छु। तर त्यसरी कति माननीयज्यूहरु नआउनु हुँदाखेरी मलाई एकदमै दुःख लाग्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।