काठमाडौं– विशेष अदालत काठमाडौले बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याएको अभियोगमा मालपोत कार्यालयका कर्मचारीसहित २५ जनालाई दोषी ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई र खुशीराम थारुको इजलासले जग्गा अपचलन गर्दै भ्रष्टाचार गरेको ठहर गरेको हो। विशेषले दोषी ठहर भएका २५ जनालाई जनही ९ महिना कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको विशेष अदालतका प्रवक्ता दीपेन्द्र अधिकारीले जानकारी दिए।
तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पोखरेल , टंकप्रसाद शर्मा र अशोककुमार भट्टराईले भने अभियोगबाट सफाइ पाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत पोखरेलसहित २८ जनाविरूद्ध २०७६ जेठ ३० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
मुद्दा दायर हुनेमा प्रमुख मालपोत अधिकृतदेखि कार्यालय सहयोगी र जग्गा व्यवसायीदेखि लेखापढी व्यवसायी समेत थिए। अख्तियारले सरकारी जग्गा व्यक्तिका नाममा पुर्याएर बाँके र बर्दियामा २–२ करोड रूपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको दाबी गरेको थियो।
अख्तियारले बाँके जिल्लाका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड ३० लाख भ्रष्टाचार भएको दाबी अभियोगमा गरेको थियो।
बाँके र बर्दिया जिल्लाका विभिन्न कित्ताको जग्गा प्रतिवादीहरूमध्ये कौशल भन्ने खैरुल हसन अन्सारी समेतले आफूलाई गैरकानुनी लाभ र नेपाल सरकारलाइ गैरकानुनी हानी पुर्याउने बदनियतले मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारहरूलाई अनुचित प्रभावमा पारी जग्गा खरिद बिक्री गरेको अभियोगपत्रमा उल्लेख छ।
मुद्दा दायर हुनेमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत पोखरेल, मालपोत अधिकृतहरू पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराई, नायब सुब्बाहरू रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का र मानबहादुर केसी, कम्प्युटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्युटर अपरेटर (करार) प्रेमबहादुर चन्द ठकुरी, खरिदारहरू सुशिल रिजाल, संजयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरी थिए।
त्यस्तै, मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवाली, मालपोत अधिकृत रामकुमार रोका, नायब सुब्बाहरू कृष्णलाल शर्मा, रविन्द्रबहादुर थापा, खरिदारहरू भूमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसी रानी थारु, कम्प्युटर अपरेटर (करार) लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय तथा कौशल भन्ने खैरूल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोबी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।