काठमाडौं- तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्यालको सट्टा जेनेभामा नेपाली टोलीको नेतृत्व गरिरहेका गोविन्द कोइराला (बन्दी) प्रधानमन्त्रीका मानवअधिकार तथा शान्ति सल्लाहकार रहेको बताइएको छ।
सोमबार जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उनलाई उक्त रुपमा सम्बोधन गरिएको हो।
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को कार्यक्रममा सहभागी हुन तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेका थिए। त्यसपछि एमालेले सरकार छाडेको छ।
उक्त कार्यक्रममा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व बन्दीले गरिरहेका छन्। बन्दी उक्त पदीय हैसियतमा नेपालका तर्फबाट परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्रीले बन्दीलाई मानवअधिकार तथा शान्ति सल्लाहकारका रुपमा नियुक्त गरेको औपचारिक जानकारी भने हालसम्म दिइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।