फाइल तस्बिर। काठमाडौं– परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपालको तर्फबाट टोलीको नेतृत्व गरेर गएका गोविन्द बन्दीको कानुनी हैसियतमाथि प्रश्न गरेकी छन्।
जेनेभामा हुन लागेको उक्त सम्मेलनमा परराष्ट्रमन्त्री पौड्याल नेतृत्वको टोली आइतबार साँझ जान लागेको थियो। तर, अन्तिम समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त भ्रमण रद्द भएको थियो।
आफ्नो भ्रमण रद्द भएपछि मन्त्री पौड्यालले सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बन्दीको हैसियतमाथि प्रश्न उठाएकी हुन्।
मन्त्री पौड्यालले उक्त सम्मेलनमा नेपालको तर्फबाट कार्यकारीको नेतृत्वमा सहभागी हुनुपर्ने तर त्यसो हुन नसकेको बताएकी छन्।
‘गोविन्द बन्दीलाई विज्ञ भनेर प्रतिनिधि मण्डलमा सहभागी गराएका थियौँ। उहाँले नेपालको टोलीको नेतृत्व गर्ने कुरा आएको छ। तर, औपचारिक रुपमा यसको निर्णय आइसकेको छैन। सल्लाहकारमा नियुक्त गरेर अख्तियारी दिने हो कि भन्ने हामीले सुनेका छौँ,’ मन्त्री पौड्यालले भनिन्,‘तर यसको कानुनी हैसियत के हो? कार्यकारीले नेतृत्व गर्ने सभामा सल्लाहकारले नेतृत्व गर्न मिल्छ कि मिल्दैन? यसलाई प्रष्ट पार्नु पर्ने हुन्छ।’
मानव अधिकार परिषद्को नेपाल अस्थायी सदस्य हो। नेपालको कार्यकालको यो अन्तिम वर्ष पनि रहेकाले कार्यकारीकै नेतृत्वमा भ्रमण हुनुपर्नेमा मन्त्री पौड्यालले जोड दिएकी छन्।
यता, मन्त्री पौड्याल आबद्ध नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएपछि उनी पदमुक्त हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।