काठमाडौं– अक्षय कुमारका फिल्मले बक्स अफिसमा नोक्सानी मात्र व्यहोरिरहेका छन्। चाहे त्यो भर्खरै रिलिज भएको ‘सेल्फी’ होस् वा २०२२ मा आएको ‘बच्चन पाण्डे’।
हालैको कुराकानीमा अक्षयले आफ्नो फिल्म असफल हुनुको कारण खुलासा गरेका छन्। अक्षयले आफ्नो फिल्मको असफलताको लागि अरुलाई मात्र जिम्मेवार नठान्ने बताएका छन्।
अक्षयले बलिउड सञ्चारमाध्यमसँग भने, ‘यो मेरो लागि पहिलो पटक होइन। एक समयमा मैले लगातार १६ फ्लप दिएँ। एक समय थियो अहिले मसँग तीन–चारवटा फिल्म छन्, जुन चलेका छैनन्।’
अक्षयले भने, ‘यदि चलचित्र चल्दैनन् भने त्यसको जिम्मेवार तपाईं नै हुनुहुन्छ। दर्शक परिवर्तन भइसकेका छन्। तपाईंले परिवर्तन गर्न आवश्यक छ। तपाईंले आफूलाई फरक पार्नु आवश्यक छ। तपाईंले फेरि सुरु गर्नुपर्छ, किनभने दर्शक अरु नै केही खोजिरहेका छन्।’
‘यदि तपाईंको फिल्मले राम्रो काम गरिरहेको छैन भने यो तपाईंको गल्ती हो। जब तपाईंका फिल्महरू लगातार फ्लप भइरहेका छन् भने यो तपाईंको लागि अलार्म हो कि अब तपाईंले परिवर्तन गर्नुपर्छ। म प्रयास गर्दैछु, म सक्छु।’
अक्षयले फिल्म राम्रो नभएमा दर्शकलाई दोष दिन नहुने पनि बताए।
कोरोना महामारीपछि अक्षय कुमारले बक्स अफिसमा पहिलो हिट हिन्दी फिल्म ‘सूर्यवंशी’ दिएका थिए, जसलाई रोहित शेट्टीले निर्देशन गरेका थिए।
तर यसपछि अक्षयका चार फिल्म ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षा बन्धन’ र ‘राम सेतु’ फ्लप साबित भए। उनको नयाँ फिल्म ‘सेल्फी’ पनि बक्स अफिसमा खराब प्रदर्शन गर्दै फ्लपको श्रेणीमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।