काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आज (आइतबार) सुनुवाइ हुँदैछ। यसअघि शुक्रबार भएको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले निवेदनमा माग गरिए बमोजिम अन्तरिम आदेश नगरी आइतबार पुन: सुनुवाइ हुने गरी आदेश दिएको थियो।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो।
आइतबारको सुनुवाइमा सन्दीप लामिछाने पक्ष र सरकारी वकिललाई पनि उपस्थित हुन भनिएको छ।
संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार लामिछानेका तर्फबाट अधिवक्ता सरोज घिमिरेले निवेदन दिएका थिए।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग शृङ्खला खेल्दैछ।
नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए।
अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।