कालीकोट- कालीकोटमा भिरबाट लडेर मृत्यु हुने संख्या वृद्धि हुँदै गएको छ। घाँस, दाउरा, मेलापात गर्ने भिरालो जमिनमा जानुपर्ने भएकाले भिरबाट लडेर मृत्यु हुनेको संख्या वृद्धि हुँदै गएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्यांकअनुसार चार वर्षमा भिरबाट लडेर २८ जनाले ज्यान गुमाएका छन्।
आर्थिक वर्ष २०७६/७७ मा छ, ७७/७८ मा सात, ७८/७९ मा पाँच र चालू आर्थिक वर्षको माघ महिनासम्म ११ जनाले लडेर ज्यान गुमाएका छन्।
माघयता कालीकोटमै तीनजनाको रूख र भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्यांकमा उल्लेख छ। विगत वर्षभन्दा चालू आर्थिक वर्षमा भिरबाट लडेर मृत्यु हुनेको संख्या धेरै छ। घाँसपात, स्याउला, सोत्तरका लागि ज्यानै जोखिममा राखेर भिरमा जानुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालयका कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए।
'घाँस काट्ने बेला भिर र रूखबाट लड्ने घटना बर्सेनि दोहोरिने गरेका छन्', उनले भने, 'भिरबाट लडेर मृत्यु हुनेको संख्या पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ।'
भिरबाट लडेर मृत्यु भएपछि शव परीक्षण गर्नुपर्ने, भवितव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने, सनाखत मुचुल्का बनाउनुपर्ने झन्झटका कारण धेरैले प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गर्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले बताए।
'सदरमुकामभन्दा बाहिर शव परीक्षण गर्ने व्यवस्था नहुनु र कानुनी झन्झट बेहोर्नुपर्ने भएकाले धेरैले प्रहरीलाई खबर नै गर्दैनन्', उनले भने, 'भौगोलिक रूपमा विकट कर्णालीमा रोगबाटभन्दा पनि लडेर मृत्यु हुने समस्या ठूलो रहेको रहेको छ।'
कालीकोटका कठिन भूगोल भएका कारणले किसानहरू भिर तथा रूखमा घाँस दाउरा गर्न जाने त्यहीँबाट लडेर मृत्यु हुनेको संख्या धेरै रहेको जोखिम बढी भएका किसानको गाउँपालिकाले बीमा गर्न खोजे कुनै पनि बीमा कम्पनीले नमानेको अध्यक्ष कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।