काठमाडौं- अमेरिकाले भारतीय मूलका अमेरिकी अर्थशास्त्री एवं मास्टरकार्डका पूर्व सीईओ अजय बंगालाई विश्व बैंकको अध्यक्ष पदको उम्मेदवार बनाउने घोषणा गरेको छ। राष्ट्रपति जो बाइडेनले बिहीबार उक्त पदका लागि बंगालाई उम्मेदवार बनाउने घोषणा गरेका हुन्।
संयुक्त राज्य अमेरिका विश्व बैंकको सबैभन्दा ठूलो शेयर होल्डर भएकोले अहिलेसम्म सधैं उसकै उम्मेदवार नै विश्व बैंकको अध्यक्ष निर्वाचित हुने गरेका छन्।
व्हाइट हाउसका तर्फबाट जारी विज्ञप्तिमा बाइडेनले भनेका छन्, ‘अजय बंगासँग वैश्विक कम्पनी बनाउने विषयमा तीन दशक भन्दा बढीको अनुभव छ।’
बाइडेनले त्यस्तो समय उनलाई मनोनित गरेका छन्, जुन समय अमेरिका विश्व बैंकमाथि जलवायु परिवर्नसँग सम्बन्धी समस्या समाधानका लागि कदम चाल्न दबाब दिइरहेको छ।
बंगाले एक दशक मास्टरकार्डको नेतृत्व गरेका हुन्। यसैगरी, अमेरिकाको निजी इक्विटी कम्पनी जनरल एटलान्टिकको अध्यक्षका रुपमा उनले काम गरेका छन्।
बंगासँग निजी क्षेत्रसँग मिलेर जलवायु परिवर्तनसँग जोडिएका समस्याका विषयमा काम गरेको अनुभव रहेको बताइन्छ।
भारतमा जन्मे हुर्केका बंगाले अमेरिकी नागरिकता लिइसकेका छन्। दिल्लीमा ग्र्याजुएट गरेका उनले अहमदाबादबाट एमबीए गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।