काठमाडौं– भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन भारतले अनुमति नदिएको विषयमा आएका समाचारबारे सरकारले सदन जानकारी दिन माग गरिएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेकपा एमालेका सांसद बासुदेव घिमिरेले उक्त माग गरेका हुन्। साथै सांसद घिमिरेले उक्त समस्यालाई हल गरेर तुरुन्त विमानस्थलर्ला सञ्चालनमा ल्याउन माग गरे।
‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको करिब १ वर्ष पुग्न आँटेको छ। त्यो पूर्ण रुपमा सञ्चालमा आउन सकेको छैन। विडम्बना के छ भने माघ ६ गते नेपाल एयरलाइन्सको मलेसियाबाट आएको विमान काठमाडौंमा मौसम खराब भएर कलकता लगेर अवतरण गरिएको छ,’ सांसद घिमिरेले भने, ‘छापाहरुमा भारतले अनुमति नदिएकोले रोकिएको भनिएको छ। यो के हो, सम्मानित सदनलाई सम्बन्धित मन्त्रालयले स्पष्ट पार्न अनुरोध गर्दछु।’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न भारतको आकाश प्रयोग गर्नु पर्ने हुँदा भारतले अनुमति नदिएकोले हालसम्म पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन।
अघिल्लो हप्ता मात्र भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणको क्रममा नेपालले उक्त अवरोध हटाएर अनुमति दिन आग्रह गरेको थियो। त्यसमा भारतले कुनै जवाफ भने दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।